बाजुराको बूढीगङ्गामा नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का विजयी

  Sampatti News Online

July 10, 2022


बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छ । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का (कुँवर) निर्वाचित हुनुभएको हो ।

बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित हुनुभयो । उपप्रमुखमा कांग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताउनुभयो ।

विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा कांग्रेसका दीपक विक्रम शाह र तारा खातीसँग पराजित हुनुभएको थियो । कांग्रेसले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थियो । दश वडा रहेको नगरपालिकामा सातमा एमाले तथा तीनमा कांग्रेस विजयी भयो ।

प्रकाशित मिति:July 10, 2022