दुई दशकमा पनि बनेन बसपार्क

  Sampatti News Online

July 24, 2022


दिपायल सिलगढी नगरपालिकाले दुई दशक अघिदेखि निर्माण तयारी थालेको दिपायल बसपार्क हालसम्म पनि निर्माण हुन सकेको छैन । नगरपालिकाले २७ वर्ष अगाडि सार्वजनिक बसपार्क निर्माणका लागि स्थानीयवासीबाट पाँच रोपनी जग्गा खरिद गरेको थियो ।

यत्तिका समय बसपार्क निर्माण नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको दिपायलमा गतिलो बसपार्क नभएका कारण यहाँका यातायात व्यवसायीले वर्षौंदेखि मूल सडकमै गाडी पार्किङ गर्दै आएका छन् । यहाँका यातयात सञ्चालकले मूल सडकमै गाडी पार्किङ गर्न थालेपछि सो सडक हुँदै अछाम, बाजुरा जाने रात्रिकालीन बसलाई समस्या हुँदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यवसायी खड्कबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, नगरपालिकाले बसपार्क बनाउन किनेको जमिन अलपत्र छ, यातायात व्यवसायीले सडकमै गाडी पार्किङ गर्ने गरेका कारण दिनमा यात्रु र राति नाइट बस सञ्चालनमा समस्या हुँदै आएको छ । नगरपालिकाले बसपार्क बनाउनका लागि खरिद गरेको जमिन प्रयोगमा नआउँदा अहिले उक्त जमिन गौचरणमा परिणत भएको छ । विसं २०५२ मा नगरपालिकाले रु एक लाख ९० हजारमा दिपायलका स्थानीयवासीबाट उक्त पाँच रोपनी जमिन रु ३८ हजारका दरले खरिद गरेको थियो ।  

तत्कालीन समयमा नगरपालिकाले बसपार्क निर्माणका लागि रु आठ लाख ९० हजार खर्च गरी चारैतिरबाट उक्त जमिनमा घेरबारसमेत गरेको र पछि साँघुरो हुने भन्दै निर्माण कार्य अगाडि बढ्न नसकेको दिपायल सिलगढी नगरपालिकाका कर्मचारी तेजराज भट्टले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बसपार्क निर्माणका लागि रु आठ लाख ९० हजार खर्च भयो तर पछि साँघुरो हुने भन्दै काम बन्द भयो, अहिले बसपार्क निर्माणका लागि पहल भए पनि जमिन नपाउँदा काम अगाडि बढ्न सकेको छैन ।”

उता दिपायल सिलगढी नगरपालिकाकाका नगरप्रमुख बाजीसिंह खड्काले डोटीमा सवारीसाधन दैनिकरूपमा थपिँदै गएकाले दिपायलमा किनिएको जमिनमा बसपार्क बनाउँदा साँघुरो हुने भएकाले राजपुरमा बसपार्क निर्माणका लागि प्रक्रिया सुरु भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सवारीसाधनको सङ्ख्या दिनहुँ थपिँदै गएको छ, दिपायलमा किनिएको पाँच रोपनी जमिनले नपुग्ने भयो, राजपुरमा नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) भइसकेको छ ।” नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि डिपिआर गरिए पनि राजपुरमा बसपार्क बनाउँदा सबैलाई पायक नपर्ने भन्दै यातायात व्यवसायीले नै विरोध गर्न थालेपछि उक्त कार्य पनि अन्योलमा परेको बताइएको छ ।

हाल नगरपालिकाले दिपायल पिपल्लामा रहेको निजी जमिन भाडामा लिएर बसपार्क सञ्चालन गर्दै आए पनि उक्त बसपार्कमा मुस्किलले १० देखि १२ वटा मात्रै बस अट्ने भएकाले पार्किङका लागि समस्या हुँदै आएको शैलेश्वरी यातयात व्यवसायी प्रालीको कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बसपार्क साँघुरो छ, विद्युत्, सुरक्षा तथा शौचालयको राम्रो व्यवस्था छैन, गाडी पार्किङ गर्न पनि समस्या भएको छ ।” डोटीको दिपायल दिल्पेश्वर माविस्थित सेती किनारमा रहेको निजी जमिन नगरपालिकाले खरिद गरी बसपार्क सञ्चालन गरे गाडी पार्किङदेखि अन्य यात्रुलाई पनि सहज हुने यहाँका स्थानीयवासीको माग रहेको छ । व्यवस्थित बसपार्क नहुँदा गाडी व्यवसायीले आफ्ना गाडी सडकमै पार्किङ गर्ने गरेका कारण जुनसुकै समयमा पनि यहाँ ठूलो सवारी दुर्घटना हुनसक्ने दिपायल सिलगढी नगरपालिका–४ का पूर्ववडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताउनुभयो ।

प्रकाशित मिति:July 24, 2022