आजबाट ‘नो हर्न’ अभियान सुरु

  Sampatti News Online

August 7, 2022

काठमाडौं । काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारबाट अभियान सुरु गरेका छन् ।

यसअघि २०७४ वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिएपनि प्रभावकारी नभएपछि यसलाई फेरि कार्यान्वयनमा ल्याउन यो अभियान सुरु गरिएको हो ।

यो अभियान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा अभियान सुरु गरिएको हो ।

सवारीको गम्भीर दुर्घटना हुनेगरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

अनावश्यक रुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवानाको व्यवस्था छ । ‘नो हर्न’को नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा भने लागू हुनेछैन ।

‘नो हर्न’ अभियान प्रभावकारी बनाउन अभियान सुरू गरिएको अवसरमा आइतबार बिहान आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । उनले सवारी चालकलाई धैर्य भइ हर्न नबजाइकन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन समेत आग्रह गरे ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति:August 7, 2022