August 12, 2022
२७ साउन, काठमाडौं । आगामी नोभेम्बर र डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएका छन् ।
यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थिए तर अब एक दिन अघि अर्थात नोभेम्बर २० बाट नै विश्वकप सुरु हुनेछ । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा थियो । जसले गर्दा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो ।
तर आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको हो । आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो ।
कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।
प्रकाशित मिति:August 12, 2022