सभामुख सापकोटा र चिनियाँ राजदूत हउबीच भेटवार्ता

  Sampatti News Online

August 12, 2022

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले शिष्टाचार भेट गरेकी हुन्।

सभामुख निवास लैनचौरमा शुक्रबार बिहान भेटवार्ता भएको हो। भेट दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो।

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धी, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे।

उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरूप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नुपर्ने बताए।
सभामुख सापकोटाले एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए।

सभामुख सापकोटाले २०७८ चैतमा चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीय मैत्री समूह, संसद संसदबीच उच्चस्तरीय भ्रमण एवं अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने बताए।

सभामुख सापकोटाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड-१९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहायताका लागि धन्यवाद दिए। दुई देशबीचका व्यापारिक नाका सञ्चालन गराउने सम्बन्धमा पनि छलफल भएको थियो।

भेटमा राजदूत यान्छीले नेपाल चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको प्रशंसा गरिन्। नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताइन्। राजदूत यान्छीले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन्।

प्रकाशित मिति:August 12, 2022