कैदीलाई त्रिपालमुनि राख्नु परेपछि

  Sampatti News Online

August 14, 2022

भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँ नपाए पछि त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएका छन् । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ ।

कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए । तीमध्ये दुई आश्रित बालिका छन् । कारागारभित्र नअटेपछि उनीहरुलाई बरण्डामा त्रिपाल टाँगेर राखिएको थियो । आचार्यका अनुसार निकै कठिन भएपछि ४६ जनालाई मकवानपुरको भीमफेदी, दुई जनालाई परासी र तीन जनालाई वीरगञ्ज कारागार स्थानान्तरण गरिएको छ । उनीहरुलाई पठाएसँगै हाल त्रिपालमुनि राख्नु नपरेपनि थपिँदै गर्दा अवस्था उस्तै हुने उहाँको भनाइ छ ।

कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन बिभागलाई जानकारी गराईएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागलाई जानकारी गराएका छौँ । पूर्वाधार निर्माणको विषयमा पहल भइरहेको छ ।” अहिले कारागारमा ६७२ पुरुष र ५० महिला कैदीबन्दी छन् । २५५ पुरुष कैदीबन्दी र २५ महिला कैदीबन्दी राख्ने क्षमता भए पनि उक्त कारागारमा कैदीबन्दीको चापका कारण सुत्न समस्या भएको उहाँको भनाइ छ ।

कारागारमा छिमेकी जिल्लाबाटसमेत कैदीबन्दी ल्याएर राख्ने गरेका कारण सङ्ख्या बढ्दै गएको आचार्यले बताउनुभयो । विषेशगरी नवलपुर र मकवानपुरबाट यहाँ कैदबन्दी ल्याइन्छ । उपचारका लागि समेत बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउने गरेका कारण चाप बढेको हो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित ठूला अस्पताल यहाँ भएकाले बिरामी कैदीबन्दीलाई स्थानान्तरण गरेर भरतपुर पठाउने गरिन्छ ।

कारागार कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै सरुवा रोगको संक्रमण फैलन सक्ने देखिएकाले उच्च साबधानी अपनाईएको आचार्यले बताउनुभयो । बाहिरबाट ल्याइएका कैदीबन्दीलाई एक हप्ता क्वारेन्टिनमा राखेर मात्रै अरुको सम्र्पकमा जान दिइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति:August 14, 2022