माओवादी पदाधिकारीको नाम टुंगो

  Sampatti News Online

August 21, 2022

लामो समय पछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पदाधिकारीको नाम टुंगो लगाएका छन् । पार्टीको महाधिवेशन सकिएको ८ महिनापछि माओवादी केन्द्रमा अब २१ सदस्यीय पदाधिकारी हुने भएका छन् । शनिबार बसेको पदाधिकारीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना पदाधिकारीको प्रस्ताव गरेपछि हलले स्वीकार गरेको थियो ।

झण्डै साढे तीन दशकदेखि पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष दाहालले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेपछि बैठकले स्वीकार गरेको थियो । प्रचण्डले गुरुङको नाम बैठकमा प्रस्ताव गर्दा महासचिवका अन्य आकांक्षी मौन थिए । महासचिवको प्रमुख दावेदारमा नेता वर्षामान पुन र विवादमा तानिएका अर्थमन्त्री जर्नादन शर्मा, फम्फा भुसाल र हरिवोल गजुरेल रहेका थिए । पार्टीभित्र बिवाद बढ्दै गएपछि अध्यक्ष दाहालले पार्टीभित्र चौथो वरीयतामा रहनु भएका गुरुङलाई महासचिवमा प्रस्ताव गर्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
पार्टीको दोस्रो वरीयतामा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतामा उपाध्यक्ष कृष्णबहादुर महरा रहनुभएको छ । चौथो नम्वरमा रहेका गुरुङलाई अध्यक्ष दाहालले महासचिवमा प्रस्ताव गरेपछि पार्टीभित्रका असन्तुष्ट नेताहरू मौन रहेको ती नेताले जानकारी दिए ।पार्टीभित्र किचलो बढ्दै गइरहेको बेला अध्यक्ष प्रचण्डले जनयुद्धकालीन वरीयतालाई समेत ख्याल गरेर महासचिवमा गुरुङको नाम प्रस्ताव गरेको दावी गरे तापनि जनयुद्धकालमा गुरुङभन्दा माथिल्लो वरीयतामा हरिवोल गजुरेल रहनुभएको थियो । अध्यक्ष दाहालले गजुरेललाई उपमहासचिवमा लगेर थन्क्याइदिनुभएको छ ।

गजुरेलले आफ्ना नजिकका नेता कार्यकर्तासँग अध्यक्षको निर्णय मनासिव नभएको गुनासो गरे पनि सार्वजनिक रुपमा भने केही प्रतिकृया दिनुभएको छैन ।अध्यक्ष दाहालले उपमहासचिवमा गजुरेल, वर्षामान पुन, गिरिराजमणी पोखरेल, जर्नादन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल र मात्रिका यादवलाई ल्याउनुभएको छ ।

त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, हितमान शाक्य, लिलामणी पोखरेल, गणेश साह, डिलाराम आचार्य, हितराज पाण्डे र राम कार्कीलाई ल्याइएको छ । महिला समानताको चर्को नारा लगाउँदै आएको माओवादी केन्द्रले पदाधिकारीमा एक जना महिलालाई मात्रै समेटेको छ ।पार्टीको कोषाध्यक्षमा केन्द्रिय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललाई ल्याइएको छ । उहाँ ‘लो प्रोफाइल’मा बसेर पार्टीभित्र काम गर्दै आउनुभएको छ ।शनिबार बसेको पदाधिकारीको बैठकले आगामी संसदीय निर्वाचनपछि पार्टीको बिधान महाधिवेशन गर्ने निर्णय गरेको छ । माओवादी अध्यक्ष दाहालले घोषणा गर्नुभएको पदाधिकारीमा एक जना पनि युवा समेटिएका छैनन् ।

दशकौंदेखि पदमा रहदै आएका ब्यक्तिले मात्र पार्टीका पदाधिकारी हुने मौका पाएका छन् । दलितको हकहितको कुरा गर्दै आएको माओवादी केन्द्रले पदाधिकारीमा एक जना पनि दलितलाई ल्याएको छैन ।सोही बैठकले १ सय २५ सदस्यीय पोलिटव्युरो र ४१ सदस्यीय स्थायी कमिटीको टुंगो लगाएको छ । तर नाम सार्वजनिक भएको छैन । शनिबार नै बसेको बैठकले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनकालागि घोषणापत्र तयार गर्न बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय समिति बनाएको छ ।

घोषणापत्रको मस्यौदा समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्णा चौधरी, भीमा ढुंगाना र जगत सिम्खडा रहनुभएको छ । पार्टीको तर्फबाट मस्यौदा निर्माणका लागि समिति गठन गरिएको जानकारी दिंदै उपाध्यक्ष कृष्णबहादुर महराले साझा घोषणापत्र तयारीका लागि सत्तारुढ गठबन्धनमा छलफल भइरहेको बताउनुभयो ।

प्रकाशित मिति:August 21, 2022