August 22, 2022
काठमाडौँ । चर्को व्याजमा ऋण दिएर बिचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेका छन् ।
गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेस प्रदेशका छन् ।
मधेसमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत हो । मधेसपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ को ९२, सुदूरपश्चिमको ४५, गण्डकीको ३५ र कर्णाली प्रदेशको २२ वटा उजुरी परेको छ ।
साहुले चर्को व्याजमा ऋण दिने र नतिरेको भन्दै घर र जग्गा नै हडपेपछि पीडितले काठमाडौँको माइतीघर मण्डलामा आएर पटक पटक प्रदर्शन गरेपछि सरकारले गृह मन्त्रालयका सह–सचिव भीष्मकुमार भुसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट मिटर ब्याज पीडितलाई उजुरी दिन आह्वान गरेको थियो ।
कार्यदलले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी सङ्कलन गरेको थियो । तर अझै केही जिल्लाबाट विवरण आउन बाँकी छ ।
कार्यदलले आइतबारसम्म मिटरब्याजीबारे उजुरी दिन समयसीमा तोकेको थियो । कार्यदलले सोमबार अपराह्न ४ बजेका लागि बैठक राखेका छन् । सबैभन्दा प्रभावित गाउँमा गएर स्थलगत अध्ययन र छानबिन पनि गर्ने कार्यदलको तयारी छ ।
प्रकाशित मिति:August 22, 2022
November 24, 2024
November 23, 2024