उपाध्यक्षसहित ११४ मिटरब्याजीविरुद्ध उजुरी

  Sampatti News Online

August 24, 2022

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएको छ । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेका छन् । मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत साउन २८ गते उजुरी आह्वान गरिएको थियो ।

देशैभरी मिटर ब्याजको जालो फैलिएको हुनसक्ने अवस्था र आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरिएको डा भुसालले बताए । सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट एक सय १४ उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले जारी गरेको सूचनामा मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ-आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएको थियो ।

यस्तो उजुरी तिलाठी कौइलाडी गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहविरुद्ध पनि परेको छ । तिलाठी कौइलाडी-६ की उपाध्यक्ष साहविरुद्ध सोही वडाकी सुनितादेवी मण्डलले आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । उजुरीकर्ताका सासू लक्ष्मीनियादेवी तथा ससुरा नैमानी मण्डलले २०६१ सालमा दुई पटक गरी लिएको रु ४० हजार ऋण ब्याजसहित फिर्ता गरे पनि ऋण लिँदा पारित गर्न लगाएको जग्गा हालसम्म फिर्ता नगरेको मण्डलले आरोप लगाएकी छन् ।

प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ गौतमले जानकारी दिए । प्राप्त उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइएको जनाउँदै प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको बताए ।

यसअघि प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सप्तरीका मिटरब्याजी रामदेव साहका छोरा नन्द किशोर र छोरी अनुराधा असार २२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रकाशित मिति:August 24, 2022