देशकै प्रमुख नाकाको आर्थिक कारोबार घट्दै

  Sampatti News Online

August 26, 2022

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८/७९ मा सङ्कुचन देखिएको छ । वीरगञ्जलाई प्रयोग गरी हुने मालबस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको हो ।

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ वटा  प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम अर्थात् ११ हजार आठ सय ४८ वटा  प्रज्ञापनपत्रमात्र कारोबारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २७।९१ प्रतिशत कम हो ।

वीरगञ्ज भन्सार नाकाबाट ग्रिन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोबार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

गत आवको साउन महिनामा ग्रिन च्यानलबाट चार हजार ६६, एलो च्यानलबाट चार हजार तीन सय ६० र रेड च्यानलबाट आठ हजार ११ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा ग्रिन च्यानलबाट एक हजार पाँच सय ८०, एलो च्यानलबाट तीन हजार पाँच सय १२ र रेड च्यानलबाट पाँच हजार आठ सय ५० प्रज्ञापनमार्फत कारोबार भएको  भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले वैदेशिक मुद्राको सञ्चितिलाई सन्तुलित गर्न नेपाल सरकारले १० वटा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धकै कारण कारोबार कम भई राजस्व सङ्कलनमा समेत असर परेको बताउनुभयो ।

असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारीसाधनलगायतका विलासीय वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि वीरगञ्ज नाकाको कारोबारमा कमी हुँदै गएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व सङ्कलनमा सुधार हुँदै जाने बताउनुभयो ।  सरकारले राजपत्रमा प्रकाशित गरी लगाएको प्रतिबन्ध हटाइएकाले कारोबारमा बढोत्तरी हु‌‌दै जाने विश्वास गरिइएको छ ।

कारोबारमा देखिएको सङ्कुचनकै कारण भन्सारले राजस्व सङ्कलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन । विसं २०७९ साउन महिनाका लागि भन्सार विभागले  १५ अर्ब २० करोड सात लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले दुई अर्ब २१ करोड ८ लाख कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिनुभयो । 

प्रकाशित मिति:August 26, 2022