जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी

  Sampatti News Online

September 1, 2022

काठमाडौं, भदौ १६ गते । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।

बिहीबार सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले जवाफ लिएको हो । समितिका सदस्य कल्याणी कुमारी खड्काले समितिले जबरासँग दुई वटा प्रश्न सोधेको जानकारी दिइन् ।

बिहीबार बिहान ११ बजेदेखि सुरु भएको जवाफ कार्यक्रम केही समयअघि सकिएको जानकारी उनले जानकारी दिइन् । उनले अर्को बैठक १९ गते आइतबारलाई राखिएको बताइन् । बुधबारदेखि जवाफ लिने क्रम सुरू भएको हो । जवाफका लागि समितिले ४३ प्रश्न तय गरेको छ ।

पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको जवाफ दिएका थिए ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहनुभएका जबराको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको हो ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई जवाफका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार जबरा बुधबारदेखि जवाफ दिनका लागि समितिमा उपस्थित भएका हुन् ।

जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

जबराविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

प्रकाशित मिति:September 1, 2022