गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुंगो दाहाल

  Sampatti News Online

September 2, 2022

सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुंगोमा पुग्न लागेको बताएको छ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुगेका प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताएका हुन्।

गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उनले भने, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ। तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन। सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौं।”

कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उनले बताए।

पत्रकार भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए। नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको उनको भनाइ थियो। निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष प्रचण्डले बताए।

प्रकाशित मिति:September 2, 2022