अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

  Sampatti News Online

September 2, 2022

१७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर बनाइएका अनधिकृत संरचना दशैंसम्म भत्काउन निर्देशन दिएका छन् ।

ललितपुर महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको छ । ‘हाम्रो महानगरमा ठुला मलहरु धेरै छैनन्, अनधिकृत संरचनाहरु, निर्माण भएको, फुटपाथ ओगटेको संरचना पनि धेरै छैनन् । केही छन भने दशैंसम्म हटाउन निर्देशन दिएका छौं, मानेनन् भने हाम्रो नगर प्रहरी गएर हटाउँछ,’ हाछेथुले भने ।

महानगरपालिकाले लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेका छन् । ठेक्कामा दिएको उक्त भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो ।

नगर प्रहरी प्रमुख हाछेथुले फुटपाथ ओगट्नेलाई पत्र नकाटी पनि कारबाही गर्न मिल्ने भएकाले बिहान नगर प्रहरीको टोलीले भत्काएको बताए ।

प्रकाशित मिति:September 2, 2022