महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड

  Sampatti News Online

September 2, 2022

१७ भदौ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिएका छन् ।

दलित महिला केन्द्र नेपाल र माण्डवी नामक संस्थाले यहाँ आज आयोजना गरेको ‘आगामी आम निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितासम्बन्धी र राजनीतिक दलको भूमिका’ विषयक अन्तक्र्रियामा दलका नेताहरुले समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रत्यक्ष निर्वाचनमा महिला सहभागिता बढाउन महिलाको नेतृत्व विकाससँगै राजनीतिक पार्टीले प्रष्ट नीतिगत व्यवस्था गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य अमृता थापा मगरले प्रत्यक्ष निर्वाचनमा महिलाका निम्ति टिकट पाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का सचिव गोमा विष्टले निर्वाचनमा महिलालाई ३३ प्रतिशत छुट्टै निर्वाचन क्षेत्रको संवैधानिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहले आरक्षणका नाममा एउटै व्यक्तिले पटकपटक आरक्षण पाउने गरेको र लक्षित वर्गले नपाएको भन्दै आपत्ति जनाउनुभयो ।

नेकपा (एमाले) का सांसद जयन्ती राईले निर्वाचन प्रणाली परिवर्तन गरी पूर्ण समानुपातिकका निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । दलित महिला केन्द्र नेपालका अध्यक्ष तथा संविधानसभाका सदस्य दुलारी हरिजनले महिला र दलित समुदायको सवालमा ऐन÷कानून र संविधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो ।

प्रकाशित मिति:September 2, 2022