दलितमाथि भेदभाव गर्न पाउँदैनन्ः नेपाल

Nepal Cover
२१ भाद्र २०७९, मंगलवार
image

२१ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता कसैले पनि दलितमाथि भेदभाव अत्याचार गर्न नपाउने बताएकौ छ। उनले दलितमाथि छुवाछुत, विभेद गर्ने एकीकृत समाजवादीको सदस्य, कार्यकर्ता हुन नसक्ने स्पष्ट पारेका छन्।

नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कि चेतनाले मान्छे सुध्रिन्छ कि कानुनले मानिस तह लाग्छ।’ उनले दलित समुदायलाई जति गोलबन्द गर्न सक्यो उति शक्ति आर्जन हुने विश्वास व्यक्त गरे। दलितको लागि विद्रोहको आवाज उठाउने कम्युनिस्ट पार्टी भएको उनको दाबी छ।

देशभरी कहि कतै विभेदका घटना घटेको पाइए लिखित रुपमा जानकारी गराउनसमेत आग्रह गर्दै उनले विभेद गर्नेलाई छानबीन गरेर कानुन अनुसार कारबाहि गर्ने प्रतिबद्धता समेत गरेका छन् । तत्कालीन एमालेमा हुँदा पनि दलित समुदायलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लागेको स्मरण गर्दै नेपालले अब पनि दलितको हकहितमा लागि पर्ने बताए।

दलित अत्याचार भएका र उत्पीडनमा परेमा आवाज उठाएर एक किसिमको तरंग पैदान गर्न आग्रह गरे। उनले असमानता र विभेदलाई अन्त्य गर्न चाहेको बताए। नेपालले दलितलाई आर्थिक रुपमा सम्पन्न बनाउन योजना बनाएर अगाडि बढ्ने स्पष्ट पारे।