September 6, 2022
२१ भदौ, काठमाडौं । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटेका छन् ।
भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ । नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेका छन् । यो पृष्ठभूमिमा प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखको भेटमा अग्निपथ योजनाबारे कुराकानी हुनसक्ने भनिएको थियो ।
तर यो विषयमा कुनै छलफल नभएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले अनलाइनखबरलाई बताए । ‘यो सैन्य नेतृत्वभन्दा पनि राजनीतिक र कुटनीतिक तहमा छलफल गर्ने भन्ने भएकाले कुरा नउठेको हो,’ उनले भने, ‘सामान्य शिष्टाचार भेट मात्र भएकाले पनि अग्निपथबारे कुराकानी हुने कुरा थिएन ।’
भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई उल्लेख गर्दै देउवाले नेपाल र भारतको सेनाबीच फरक सम्बन्ध रहेको बताएका हुन् ।
उनले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिए । पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।
प्रकाशित मिति:September 6, 2022
November 25, 2024