प्रचण्ड–जनार्दन जुहारी : म प्रचण्डको कडा आलोचना गर्छु : जनार्दन, जनार्दन शर्मालाई मैंले हुर्काएको र रक्षा गरेको हुँ : प्रचण्ड

  Sampatti News Online

September 7, 2022

काठमाण्डौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ ।

अखिल क्रान्तिकारीले गठन गरेको क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा आज बुधवार पार्टीभित्रको पदाधिकारीको पद विभाजनलाई लिएर प्रचण्ड र शर्माबीच घोचपेच भएको हो । अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोज्नुभएको थियो तर उपमहासचिव जनार्दन शर्माले आफूले पहिले बोलेपछि मात्रै प्रचण्डले बोल्नुपर्ने अडान राखेपछि पहिले जनार्दनका कुरा सुनेपछि मात्रै प्रचण्ड बोल्नुभएको थियो ।

सम्बोधनका क्रममा जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्ने बताए । ‘नीति र नेतृत्व सही ढङ्गले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडीले हुँदैन, लाइनले हुँदैन’, शर्माले भने ।

तर प्रचण्डले भने जनार्दन शर्मालाई आफैँले हुर्काएको र रक्षा गरेको बताए । उनले भने, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो– नीति र नेतृत्वको रक्षाको कुरा, म तपाईँहरूलाई भन्न चाहन्छु– जनार्दनलाई हुर्काउन र रक्षा गर्न पनि प्रचण्डको मुख्य भूमिका छ । उनको रक्षा र विकास गर्ने कुरामा मेरो भूमिका छ । मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधान सभाको पनि नेतृत्व गरेँ, गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि धेरै चिज भएकै छ, अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन् भन्ने हो । उनीहरूले पार्टीलाई एकताबद्ध गराउन, क्रान्तिकारीलाई एकै ठाउँमा ल्याउन र हाम्रो विरासत जोगाइराखुन् ।’

कार्यक्रममा प्रचण्डले अहिले चुनावको लडाइँमा जाँदै गर्दा पार्टीको नीति सडक, सदन र सरकारका तीन वटै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने हुनुपर्ने बताए । सडकको हिरो युवा विद्यार्थी भएको र विद्यार्थी सडकमा नआएसम्म देशमा परिवर्तन नहुने भएकाले टोल–टोलमा अभियान चलाउन पनि प्रचण्डले निर्देशन दिए । आफू देशव्यापी प्रशिक्षणमा जाँदा पनि अहिलेको चुनावी प्रणालीमाथि प्रश्न गरिरहेको भन्दै प्रचण्डले अहिलेको महँगो चुनाव लड्न माओवादीलाई समस्या भइरहेको बताए

प्रतिगामीहरूले माओवादीले लडेर ल्याएको संविधान र नागरिकका अधिकार खोस्ने प्रयास गरिरहेको भन्दै प्रचण्डले विरोधीविरुद्ध एकजुट हुन पनि आह्वान गरे ।

प्रकाशित मिति:September 7, 2022