राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोधमा उत्रिएको लोकतान्त्रिक समाजवादी पार्टी ले चुनावी तालमेल भने एमालेसँगै गर्ने प्रयास गरेका छन्।
नागरिकता विधेयक र चुनावी मतलाई एउटै रूपमा हेर्न नहुने लोसपाका नेताहरूले तर्क गरेका छन्।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरे।
हिजो एमालेले ल्याउँदा कांग्रेस र माओवादी मिलेर रोकेका हुन्। यस पटक एमालेले त्यसको विरोध गरेपछि राष्ट्रपतिबाट रोकियो,’ महतोले भने, ‘यो प्रकरण चुनावसँग जोडिदैन। हामी तालमलेका लागि सबैसँग खुला छौ। चुनावी तालमेल भनेको भोटको लेनदेन हो।
उनले चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने समेत बताए। सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिदै गएको उनले बताए।
सत्ता गठबन्धनको आफैंभित्र मारामार छ। हामी कहिलेसम्म कुरेर बस्ने ? चुनावी तालमेलका लागि एमालेसँग प्रयास भइरहेको छ,’ । ‘कांग्रेस र माओवादीको एजेण्डा नमिलेजस्तै हामी र एमालेको नमिल्न सक्छ। तर चुनावी तालमेल अलग कुरा हो।’
लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले एमालेसँग छलफल चलिरहे पनि पार्टीका तर्फबाट वार्तामा खटिएका सर्वेन्द्रनाथ शुक्ला अस्वस्थ रहेकाले वार्ता निष्कर्षमा नपुगेको बताए।
‘एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र हाम्रोतिरबाट शुक्लाजी वार्तामा हुनुहुन्छ। शुक्लाजी अस्वस्थ भएकाले वार्ता रोकिएको थियो,’ उनले भने, ‘अब यो प्रक्रिया अघि बढ्छ। हामी एमालेसँगनै तालमेल गरेर जाने पक्षमा छौ।
नागरिकता विधेयकमा सैद्धान्तिक रूपमा फरक भए पनि चुनावी तालमेलसँग यो विषय जोड्न नहुने उनको भनाई छ।
लोसपाका अर्का कार्यकारिणी सदस्यल केशव झाले नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा आउनेलाई समर्थन गर्ने र एमालेसँगको तालमेल पनि अघि बढ्ने बताए।