डेंगुबाट दुई जनाको मृत्यु

Nepal Cover
२५ आश्विन २०७९, मंगलवार
image

झापा । डेंगु सङ्क्रमणबाट जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएका छन्। डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा छेत्री रहेका छन्। भट्टराई स्वास्थ्य कार्यालय भद्रपुरका सातौँ तहका परिवार नियोजन अधिकृत हुन्।

झापा ओहोरदोहोर गरिरहेकी उनकी छोरीलाई त्यही बेला डेंगु संक्रमण पुष्टि भएको थियो। काठमाडौंमा पढिरहेकी छोरीलाई डेंगु भएपछि उनी फेरि दसैंमा काठमाडौं गए। काठमाडौंमा नै उनलाई डेंगु संक्रमण भयो।

काठमाडौंको हेम्स हस्पिटलमा उपचार गराइरहेका उनको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिए।

सुगर र मुटुको समस्या भएका भट्टराईलाई डेंगुले संक्रमित बनाएको उनले बताए। उनी कुल वंश प्रतिष्ठान झापाका निवर्तमान उपाध्यक्ष रहेका थिए।

त्यस्तै बिर्तामोड–३ निवासी छेत्रीको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। काठमाडौंको सरस्वती क्याम्पस लाइब्रेरी शाखामा कार्यरत छेत्रीलाई डेंगुको लक्षण देखिएको थियो। काठमाडौंमा डेंगुको लक्षण देखिएका उनलाई फूलपातीका दिन झापा ल्याई अस्पताल भर्ना गरियो।

कलेजो र मिर्गौलाले काम गर्न छाडेपछि उनको मङ्गलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। छेत्रीको माइती भद्रपुर नगरपालिका–६ हो। उनी नारायण ढुङ्गानाकी छोरी हुन्। उनको माई नदीमा दाहसंस्कार भइरहेको जनाइएको छ।