अमेरिकाको आकाशमा दुईवटा विमान एक आपसमा ठोक्किए

  Sampatti News Online

November 15, 2022

काठमाडौं, २७ कात्तिक । अमेरिकाको टेक्सस राज्यमा हवाई प्रदर्शनीका क्रममा दोस्रो विश्वयुद्धको समयमा बनेका पुराना दुई वटा विमानहरू एक आपसमा ठोक्किएर जमिनमा बजारिएका छन् ।

दुई वटै विमानहरू निकै कम उचाइमा उडिरहेका र एक अर्कालाई ठक्कर दिएको भिडिओहरूमा देख्न सकिन्छ। विमानहरू जुध्दा एउटा विमान दुई टुक्रा भएको र भुईँमा झर्ने बित्तिकै आगोको मुस्लो उठेको थियो ।

दुवै विमानहरू डलास नजिकै हवाई प्रदर्शनीमा भाग लिइरहेका थिए। दुर्घटनामा कति मानिसहरू परे भन्ने खुल्न सकेको छैन तर दुई जना मृतकको भने नाम सार्वजनिक भएको छ।अमेरिकी एअरलाइन्सहरूका पाइलटको संस्था द एलाइड पाइलट्स असोसिएसनले टेरी बेकर र लेन रुट नाम गरेका आफ्ना पूर्व सदस्यहरूले दुर्घटनामा ज्यान गुमाएको जनाएको छ।

अमेरिकाको सङ्घीय उड्डयन प्रशासनले शनिवार भएको घटनाबारे अनुसन्धान गर्ने बताएको छ। यसलाई अमेरिकाको उत्कृष्ट मध्येको दोस्रो विश्वयुद्ध हवाई प्रदर्शनीको रूपमा व्याख्या गरिएको थियो। विश्वयुद्धका भेट्रानहरूको सम्मानमा आयोजना भएको तीन दिने कार्यक्रम शुक्रवार सुरु भएको थियो र ४००० देखि ६००० मानिसहरूले यसको अवलोकन गरिरहेका थिए।

डलासका मेयर इरिक जोनसनले यसलाई “डरलाग्दो दुर्घटना” भएको प्रतिक्रिया दिए। “भिडिओहरू हृदयविदारक छन्,” उनले ट्विट गरेका छन्। “हाम्रो परिवारलाई शिक्षा र मनोरञ्जनका लागि आकाशमा गएका आत्माहरूको निम्ति प्रार्थना गरिदिनुस्।”

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या थाहा नभए पनि विमानहरू खसेको स्थानमा भने कोही पनि घाइते भएनन्। कार्यक्रम आयोजकको वेबसाइटका अनुसार शनिवार धेरै वटा विमानहरू प्रदर्शनका लागि उठाउने तय भएको थियो।

जर्मनी विरुद्ध जितमा सघाएको विमान

दुर्घटनामा परेको मध्येको एउटा बी–१७ बम्बरको दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्ध जितका लागि मुख्य भूमिका थियो। अर्को विमान पी–६३ किङकोब्रा पनि त्यही युद्धमा प्रयोग भएको थियो। तर यसको प्रयोग सोभियत वायुसेनाले सैन्य प्रयोजनका लागि मात्रै गरेको थियो। बी-१७ मा प्रायजसो चार देखि पाँच जनासम्म चालक दलका सदस्य रहने गर्छन्। तर पी६३ मा एक जना मात्रै पाइलट रहने एक जना आयोजकले बताएका छन्। तर उनले घटनामा भएको मानवीय क्षतिबारे केही बताएनन्।

“यो दोस्रो विश्वयुद्धमा हुने उडान शैलीको हवाई प्रदर्शनी थियो जसमा विमान र तिनीहरूको क्षमता उजागर गरिन्थ्यो,” हान कोट्सले पत्रकारहरूसँग भनेका छन्। बीबीसीबाट

प्रकाशित मिति:November 15, 2022