आयोगले दुर्गम क्षेत्रका मतदान केन्द्रमा पठायो मेडिकल किट

  Sampatti News Online

November 16, 2022

काठमाडौं–आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले अति आवश्यक पर्ने क्षेत्रहरुमा स्वास्थ्य सामग्री पठाएको छ। आयोगका सूचना अधिकारी सुर्य प्रसाद अर्यालले दुर्गम क्षेत्रमा मेडिकल किट पठाएको बताएका छन्।

अर्यालका अनुसार स्वास्थ्य सामाग्रीको पहुँच सजिलोसँग नहुने जिल्लाका मतदान केन्द्रहरुमा सिटामोल, जीवनजल, पखालाको औषधि, ब्यान्डेज र एलर्जीका औषधिहरू पठाएको बताए। त्यस्तै आयोगले निर्वाचनलाई मात्रै भनेर स्वास्थ्यकर्मी छुट्याउदा निर्वाचन खर्च बढ्ने हुँदा सबै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि लगाएतका आवश्यक कुराहरू चुस्त र दुरुस्त राख्न अनुरोध गरेको छ।

साथै, आयोगले सबै मतदान केन्द्रहरुमा सामग्री पठाउँदा मास्क र सेनीटाईजर पनि अनिवार्य रुपमा पठाएको अर्यालले बताए। उनका अनुसार कोरोनाको संक्रमण पूर्णरुपमा बन्द भईनसकेको हुनाले भौतिक दुरी कायम गर्न, मास्क लगाउन, भिडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन सम्पन्न बनाउन समेत अनुरोध गरेको छ।

त्यस्तै आयोगले मतदान केन्द्रलाई समावेशी र अपांगमैत्री बनाउन समेत निर्देशन दिएको आर्यालले बताए।
यस्तो छ आयोगले मतदान केन्द्र समावेशी र अपांगमैत्री बनाउन जारी गरेको निर्देशन :

(क) मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउमा नबनाई वा नराखी होचो कद वा अपाङ्गता भएका व्यक्ति वा ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मतसङ्केत गर्न सक्ने गरी बनाउने वा राख्ने।

(ख) गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्ने।

(ग) मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, विरामी तथा अशक्त मतदाताको लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्चित गर्ने।

(घ) मतदान अधिकृतले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, ‘बिरामी, किरियापुत्री, आफ्नो काखे बालवालिका साथमा भएकी महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लैगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई मतदान गर्ने काममा प्राथमिकता दिई मतदान गराउने व्यवस्था गर्ने।

(ङ) दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफ्नो मत सङ्केत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसंग गई आफ्नो रोहवरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसइकेत गर्न लगाउने।

(च) कुनै मतदाताले दुष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मतृसङ्केत गर्न नसक्ने भई मतसङ्केत गर्ने काममा सहयोग पुयाउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुर उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्ने।

(छ) निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैंगिकमैत्री तथा समावेशी हुने गरी प्रभावकारी बनाउने ।

प्रकाशित मिति:November 16, 2022