November 24, 2022
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।
मुगुको रारा छायाँनाथ नगरपालिका ४ स्थित गैराज्युला कृषि सिचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उपसचिव शाहसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
आयोजनामा उपसचिव शाह र सब-इन्जिनियर महेश बुढ्थापाले यथार्थ र वास्तविक नाप जाँच नगरी बदनियत राखी नभए/नगरेको काम देखाई वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रु.२,११,३१६.२६ रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको आयोगको ठहर छ ।
साथै गैराज्युला कृषि सिँचाई आयोजना निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामले आयोजनामा झुठ्ठा प्रतिवेदन तयार गरी आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्याङ्कन गरी/गराई उक्त बढी रकम भुक्तानी लिएको आरोपमा निजहरुविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् ।
प्रकाशित मिति:November 24, 2022