चीनले भारतकाे आठ किलाेमिटर भुमि मिच्याे: भारत

  Sampatti News

June 21, 2020

काठमाडौँ । भारतले चीनलाई आफ्नो भूमि मिचेको आरोप लगाएको छ ।

लद्दाख क्षेत्रमा रहेको पांगोङ त्सो क्षेत्रको लगभग आठ किलोमिटरको भारतीय भूभाग चीनले कब्जा गरेको आरोप भारतले लगाएको छ ।

गत मे महिनाको आरम्भमा त्यहाँ पुगेका चिनियाँहरूले रक्षा संरचना र बंकर समेत बनाएको आरोप लगाउँदै भारतले उक्त क्षेत्रमा रहेको तालको उत्तरी किनारमा फिंगर ४ देखि ८ को बीच भागमा रहेका क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका सैनिक रहेको बताएको हो ।

उता चीनले गलवान उपत्यका र हट स्प्रिंग्सका विषयमा दुई देशबीच कुराकानी भइरहँदा पांगोङ त्सोमा उपस्थिति बढाएको हो । द टाइम्स अफ इन्डियाकाअनुसार, गलवान उपत्यकाको पट्रोल पोइन्ट १४ नजिकको क्षेत्रमा भारतीय सेना बसिरहेको छ । त्यसै ठाउँमा सोमवार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको थियो ।

यसअघि पांगोङ त्सोको उत्तरी किनारमा मे महिनाको आरम्भमै भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो । त्यसपछि चिनियाँ सैनिकहरूले भारतीय जवनाहरूलाई फिंगर ४ भन्दा पूर्वपट्टि जान दिएका थिएनन् ।

भारतीय सेनाका एक वरिष्ठ अधिकृतले भने, ‘सबै नक्साले वास्तविक नियन्त्रण रेखा फिंगर ९ मा उत्तरबाट दक्षिण भएर जाने देखाउँछन् । फिंगर ३ र ४ को बीचमा वर्षौंदेखि इन्डो–टिबेटन बोर्डर पुलिसको पोस्ट छ । तर अघिल्लो महिनादेखि चीनले फिंगर ४ र ८ को बीचमा कब्जा गरेको छ । चिनियाँ जनमुक्ति सेनाले त्यस विषयमा कुरै गर्न चाहेको छैन ।’

प्रकाशित मिति:June 21, 2020