ललितपुर महानगरले नागरिकलाई बिमा सुविधा दिने 

  Sampatti News Online

January 2, 2023

काठमाडौं । महानगर प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने प्रक्रिया सुरु भइसकेको बताएका हुन्। उनले भने, ‘नगरबासीको स्वास्थ्य बिमा गराएर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी यो कार्यक्रम लागू हुँदै छ।

ललितपुर महानगरले नगरभित्र बसोबास गर्ने नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममार्फत सुविधा दिने तयारी थालेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्वास्थ्य बिमा कार्यक्रमबाट ललितपुरबासी लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले भने, ‘बिमा कार्यक्रम प्रभावकारी बनाउँछौं। यसले नगरबासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन सहयोग पुग्नेछ।’

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दोमादर बसौलाले स्वास्थ्य बिमा कार्यक्रमले स्वास्थ्य समस्याको कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्ने बताए।

बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले पबमा कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार ३ हजार ५०० रकम प्रिमियमस्वरुप बुझाउनुपर्ने प्रावधान रहेको जानकारी दिए।

‘प्रिमियम बराबरको रकम बुझाएपछि १ लाख बराबरको स्वास्थ्य सेवा लिन पाइन्छ,’ उनले भने।

गरिब, एचआइभी संक्रमित, अति अशक्त, अपागंता भएका परिवारलाई प्रिमियमबापतको शुल्कमा छुट व्यवस्था गरिएको महानगरले जनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई प्रिमियम रकममा ५० प्रतिशत र ७० वर्ष पुगिसकेका ज्येष्ठ नागरिकको हकमा पूरै छुट दिइनेछ।

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी नगरबासीले  ओपिडी, इमर्जेन्सी, अन्तरंग अर्थात् अस्पताल भर्ना भई लिइने सेवा (यस्तो सेवा लिँदा क्याबिनको सुविधा उपलब्ध हुने छैन। एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, एमआरआई, सिटी स्क्यान, रगतको जाँच, एपेन्डिक्स अपरेसन, पत्थरी अपरेसनको सेवा लिन सक्नेछन्।

महानगरका अनुसार १ हजार बराबरको चस्मा, श्रवणयन्त्र, सेतो छडी, बैसाखी र १ हजार १३३ थरीका सूचीकृत औषधी पनि सित्तैमा उपलब्ध हुनेछ।

प्रकाशित मिति:January 2, 2023