गत २५ पुसमा गण्डकी प्रदेशमा तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीको नेतृत्वको सरकारले १६ दिनपछि पूर्णता पाएको हो । संघीयतामा प्रदेश सरकारप्रति प्रश्न उठेका बेला गण्डकी प्रदेशमा भने खर्च कटौंती गर्न तीन दलका मुख्यमन्त्रीसहित १२ मन्त्रालयबाट घटाएर सात मन्त्रालयमा टुग्याइएको छ ।
मुख्यमन्त्री अधिकारीको नेतृत्वमा सोमबार पाँच मन्त्रालय घटाएर मन्त्रिपरिषद् टुंगाउने तयारी गरे पनि दलहरूलाई मन्त्रालय बाँडफाटमा टुंगो लगाउन नसके पछि उनी काठमाडौं हानिँदै प्रधामन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मंगलबार पोखरा फर्किएसँंगै साँझ मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा तनहुँका हरिबहादुर चुमान नियुक्त भएका छन् । त्यसैगरी अन्य मन्त्रीमा आर्थिक मामिला मन्त्रीमा स्याङ्जाकी सीताकुमारी सुन्दास, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा स्याङजाका पन्चराम गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नवलपुरका रोशनबहादुर गाहा, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रीमा कास्कीका वेदबहादुर गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा म्याग्दीका रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् । मंगलबार मन्त्रीहरू नियुक्ति भएसँंगै गण्डकी प्रदेश प्रमुख पृथ्बीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।