काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच घम्साघम्सी परेको छ।
वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बोल्दाबोल्दै बीचमै हस्तक्षेप गरेपछि घोचपेच सुरु भएको थियो।
प्रधानमन्त्री ओलीले आफूलाई वरिष्ठ नेता नेपालले बीचैमा रोकेपछि ‘अहिले होइन, आफ्नै पालामा बोल्नुस्’ भन्दै सामसुम पार्ने कोसिस गरेका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले काम धेरै राम्रो गरेको भन्दै एकपछि अर्को गरेर उदाहरण दिँदै सरकारले राम्रा काम गरेको भन्दै लामो सूची पेश गर्न थालेपछि वरिष्ठ नेता नेपालले उनलाई बीचमै राके र भने– ‘एकछिन रोक्नुस्,’ र, थपे, ‘यीनै कुरा धेरैपटक सुन्दासुन्दा थाकियो । तपाईले राम्रो काम भएको छ भन्ने दावी गरेर हुन्छ ? मसँग हिड्नुस्, देखाई दिन्छु कहाँ के काम भएको छ । जनताले के भनेका छन्, ग्राउन्डमा गएर बुझ्नुस् ।’
नेपाललको अर्को विषयमा पनि असन्तुष्टि आयो । पार्टी नेतृत्वले जोखिम मोलेर एकता सम्पन्न गरेको प्रधानमन्त्रीको भनाईमा नेता नेपालको जवाफ थियो, ‘अरुको योगदानलाई कम नआँक्नुस् । आत्मप्रशंसाको बखान नगर्नुस् । अब धेरै भयो ।’ सामूहिक नेतृत्वबाट एकता सम्भव भएको भन्दै नेता नेपालले पार्टीमा सबैको योगदान रहेको बताएका थिए ।
ओली र नेपालबीच केहीबेर घोचपेच भएको थियो । त्यसपछि ओलीले भनेका थिए, तपाईंको बोल्ने पालो आउँछ, अहिले हतार नगर्नुस्, जे भन्न छ आफ्नै पालामा भन्नुस् ।’