भारतले बढायो सुनमा भन्सार, नेपालमा असर पर्ला ?

  Sampatti News Online

February 13, 2023

काठमाडौं । भारतकाे वित्तमन्त्री निर्मला सीतारमणले सुन आयातमा लाग्ने भन्सार महशुल साढे १२ प्रतिशत गरेकी हुन् । सरकारले आर्थिक वर्ष २०२३/२४ को बजेटमार्फत सुन आयातमा भन्सार महशुल बढाएको छ ।

नेपाल र भारतबीच खुला सिमाना एवं निर्बाध व्यापार रहेकाले भारतीय बजारमा सुनको भाउ बढ्नेबित्तिकै नेपाली बजारमा स्वत: त्यसको असर पर्ने जानकार बताउँछन् । अर्कोतिर नेपालको उत्तरी छिमेकी चीनले सुनमा सामान्य दरमा कर लगाउने गरेको छ । यस्तोमा चीनबाट नेपाल हुँदै भारत निकासीको सम्भावना नकार्न नसकिने व्यवसायी बताउँछन् । कारोना महामारीपछि चीनले नेपालसँगका नाका बन्द गरेकाले तत्काललाई नेपाललाई ट्रान्जिट बनाएर चिनियाँ सुन भारत पुर्‍याउने सम्भावना निकै कम देखिन्छ ।

यसबाहेक अन्य देशबाट अवैध तरीकाले नेपालमा सुन ल्याएर भारत पुर्‍याउने सम्भावना पनि बढेर जाने बताइन्छ । ‘यस्तो सम्भावना नरहने होइन, रहन्छ । सरकारले आफ्ना सुरक्षा एवं जाँच संयन्त्रमार्फत यसको नियन्त्रण गर्नुपर्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने । उनले यस्ता क्रियाकलापबाट नेपाली बजार पनि प्रभावित बन्न सक्ने बताए ।

नेपालले वैधानिक रूपमा दुबई, टर्की, हङकङका साथै अस्ट्रेलियाबाट सुन आयात गरिरहेको छ । नेपालमा व्यवसायीले सुन आयात गर्न पाउँदैनन् । प्रचलित व्यवस्थाअनुसार नेपालमा सुन बैंकहरूले आयात गर्छन् । व्यवसायीले बैंकबाट किन्छन् ।

भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल वृद्धि गरेसँगै नेपाली बजारमा भारतको तुलनामा सुनको भाउ प्रतितोला हजारदेखि १५ सय रुपैयाँ सस्तो पर्ने व्यवसायी बताउँछन् ।

प्रकाशित मिति:February 13, 2023