March 24, 2023
काठमाडौँ । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज (शुक्रबार) सार्वजनिक गरिने भएको छ ।
राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गर्दै छन् ।
सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले २५ कात्तिकदेखि ९ मंसिर ०७८ सम्म जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।
सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी भए पनि राजनीतिक कारणले रोकिएको थियो । नेपालमा हरेक १० वर्षको अन्तरमा जनगणना गर्ने व्यवस्था र अभ्यास छ ।
जनगणना मुख्यतः देशको सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय जनगणनामा समेटिन्छन् ।
प्रकाशित मिति:March 24, 2023
November 23, 2024