April 11, 2023
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए ।
‘पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी सङ्घसँगै शिक्षकहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो’, उनले भने । सभापति देउवाले काँग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताए ।
‘पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, काँग्रेसलाई मजबुद बनाउनुपर्छ’, सभापति देउवाले भने । उनले काँग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले संविधान निर्माण भएको सात वर्ष पूरा हुँदा पनि सङ्घीय शिक्षा ऐन निर्माण हुन नसक्नु दुःखको कुरा भएको बताए । उनले माओवादी जनयुद्धका क्रममा मारिएका शिक्षकका छोराछोरीलाई सरकारले हेर्न नसकेको गुनासो गरे ।
‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।
विस २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक सङ्घले हाल सात वटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा सङ्गठन विस्तार गरिसकेको छ ।
नेपाल शिक्षक सङ्घमा हाल देशभर ८० हजारभन्दा बढी शिक्षक सदस्य रहेको अध्यक्ष पौडेलले बताए ।
प्रकाशित मिति:April 11, 2023
November 24, 2024