काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० बुँदे सुधार कार्ययोजना अघि सारेको छ ।
सरकारले अघि सारेको १०० दिनका १०० कार्यसूची अनुसार मन्त्रालयले सुधार कार्ययोजना अघि सारेको हो । वैदेशिक रोजगारीसम्बन्धी प्रशासनिक प्रक्रियालाई सहज बनाउन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थामा सुधार गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले आवेदन दिएको दिनमै श्रम स्वीकृति प्राप्त गर्न सक्ने भएका छन्।
यसअघि दैनिक सीमित संख्यामा टोकन प्रणालीमार्फत सेवा प्रदान हुँदै आएकोमा उक्त व्यवस्था हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याएको हो।
विभागका अनुसार आवश्यक कागजात पूरा गरी आवेदन पेश गरिएमा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति उपलब्ध गराइनेछ। यसले सेवाग्राहीको समय बचत हुनुका साथै प्रक्रियागत जटिलता घट्ने अपेक्षा गरिएको छ।
आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा सम्पन्न छलफलले श्रम प्रशासनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको थियो। उक्त बैठकमा हालै सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई कार्यान्वयनमा लैजाने विषयमा समेत विमर्श गरिएको थियो।
मन्त्रालयले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै श्रमिकको अधिकार संरक्षणमा केन्द्रित भएर विभिन्न सुधार कार्यक्रम अघि बढाउने नीति लिएको जनाएको छ।