३ करोड खर्च तर नयाँ उद्यमी जन्मिएनन्

  Sampatti News Online

April 12, 2023

काठमाडाै‌ । जुनीचाँदे गाउँपालिका–११ का लालबहादुर खड्काले २०७७ सालमा ४५ दिने होजियारीसम्बन्धी सीप सिके । खड्काले घरमै रोजेको सीप पाए । उनी ४५ दिनसम्म सक्रिय सहभागी भएर तालिम सिके । तर अन्तमा आफूले सिकेको सीप कार्यान्वयनमा ल्याउन सकेनन् । लालबहादुर खड्काजस्तै जुनीचाँदे–१० की कमला बस्नेतले तीन महिने सिलाइकटाइ तालिम लिइन् । तर बस्नेतले सीपको कुनै महत्व गरेकी छैनन् ।

खड्का र बस्नेत उदाहरण पात्रमात्र हुन् । जुनीचाँदे गाउँपालिकामा सिर्जना भएका उद्यमीहरू अहिले बेरोजगार छन् । पालिकाले २०७७ मा उद्यमी सिर्जना गर्नका लागि २३ लाख रकम खर्च गरेको थियो । रकम खर्च गरेर ९० जना नयाँ उद्यमी सिर्जना भएका थिए । तर असार मसान्तपश्चात सबै निस्क्रिय भए । सुरुमा कर्मचारीले धेरै सपना बाँडेको व्यवहारमा उतार्न नसकेको भन्दै यहाँ सिर्जना भएका उद्यमी यतिबेला निस्क्रिय छन् ।

सरकारले स्थानीय तहबाट रोजगारीका लागि पठाएको लाखौं रकम खर्च भए पनि उद्यमीले निरन्तरता नदिएपछि कार्यक्रम प्रभावकारी कार्यान्वयन नभएको जुनीचाँदे गाउँपालिका अध्यक्ष वेदबहादुर शाहीले बताए । गाउँपालिकाले आर्थिक वर्षमा मात्र २३ लाख रकममा ९० उद्यमी सिर्जना गरेको थियो । लघुउद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका २०७७ अनुसार कार्यक्रम सञ्चालन भए पनि स्थानीयले कुनै चासो नदेखाएको पालिका उद्योग विकास शाखाले जनाएको छ ।

जुनीचाँदे गाउँपालिकाले २०७८ सालमा सोही कार्यक्रममा २१ लाख ६९ हजार खर्च गरेको छ । यस्तै कार्यक्रममा २३ लाख ८० हजार खर्च गर्दैछ । जुनीचाँदे मात्र नभएर जिल्लाका सातै स्थानीय तहमा कार्यक्रमको दशा त्यस्तै छ । नेपाल सरकार उद्योग तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि उघुउद्यम विकास कार्यक्रममार्फत् दुई वर्षमा तीन करोड खर्च भएको छ ।

जिल्लाका सातै स्थानीय तहले उद्यमी सिर्जना शीर्षकमा दुई आर्थिक वर्षमा तीन करोड ३६ लाख खर्च गरेका हुन् । बेरोजगार रहेका नागरिकलाई रोजगारी सिर्जना गर्ने नाममा राज्यको रकम खर्च भएको छ । सात स्थानीय तहमा हाल उद्यमीले तालिम लिएर हराउने गरेका छन् । सुरुमा तालिम पाउने स्वरोजगारी हुने सपना बोकेर समूहमा आबद्ध भएका उद्यमी तालिमपश्चात हराउने गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनाएको छ ।

लामो समय गैरसरकारी संस्थामार्फत् काम गर्दै आएको मेड्पा कार्यक्रम २०७७ सालमा स्थानीय तह मातहत गएको थियो । जिल्लामा दुई आर्थिक वर्षमा १२ सय ३७ जनालाई तालिममा मात्र तीन करोड ३६ लाखको दिएको छ । विभिन्न सीप विकास तालिम सञ्चालन गरेर जिल्लाका सातै स्थानीयले रकम खर्च गरेका छन् । अभिमुखीकरणदेखि सीप विकास तालिमसम्म सञ्चालन गर्न जिल्लामा सातै स्थानीय तहले रकम खर्च गरेको पालिकाहरूले जनाएका छन् ।

भेरी नगरपालिकाले मात्र २०७७ सालमा २३ लाख रकम तालिममा खर्च गरेको थियो । रकमबाट ९० जना नागरिकलाई रोजगार दिएको कार्यालय स्रोतले जनाएको छ । यस्तै नगरपालिकाले २०७८ सालमा २३ लाख ६० हजार रकम तालिममा खर्च गरेको छ । जसमा ८५ जना नयाँ उद्यमी सिर्जना भएका छन् । यस आर्थिक वर्षमा २३ लाख ८० हजार रकम खर्च गर्दैछ । नगरपालिकाले ८५ जना उद्यमी सिर्जना गर्ने लक्ष्य छ । यस्तै कुशे गाउँपालिकाले २०७७ सालमा ९० जना उद्यमी सिर्जना गरेको थियो ।

जसमा २४ लाख २० हजार रकम खर्च भएको छ । तालिम सञ्चालन गर्नका लागि मात्र कुशे गाउँपालिकाले रकम खर्च गरेको हो । यस्तै २०७८ सालमा गाउँपालिकाले २३ लाख ६० हजार खर्च गरेर ८५ हजार रकम खर्च गरेको छ । गाउँपालिकाले अहिले २३ लाख ८० हजार रकम तालिममा मात्र खर्च गर्दैछ । जसमा ८० उद्यमी सिर्जना गर्ने लक्ष्य छ । जिल्लाको नलगाड नगरपालिकाले २०७७ सालमा २६ लाख ६० हजार रकम खर्च गरेको छ ।

रकमबाट एक सय नयाँ उद्यमी सिर्जना गरेको थियो । २०७८ सालमा नगरपालिकाले २६ लाख ६० हजार खर्च गरेर ८५ जनालाई तालिम दिएको थियो । यस आवमा २३ लाख ८० हजार रकम तालिममा खर्च गर्दैछ । जसको ८० जना नयाँ उद्यमी सिर्जना गर्ने लक्ष्य रहेको नगरपालिका उद्योग विकास शाखाले जनाएको छ । बारेकोट गाउँपालिकाले २०७७ सालमा २३ लाख ६० हजार तालिममा खर्च गरेको छ ।

जसअन्तर्गत एक सय उद्यमी सिर्जना भएको पालिका उद्योग विकास शाखाले जनाएको । २०७८ सालमा सोही पालिकाले २३ लाख ६० हजार रकम खर्च गरेको छ । रकमबाट ८५ जना उद्यमी सिर्जना भएका छन् । पालिकाले अहिले २३ लाख ८० हजार रकम तालिम शीर्षकमा खर्च गर्दैछ । रकमबाट ८० जना उद्यमी सिर्जना गर्ने पालिकाको लक्ष्य छ ।

कार्यक्रमअन्तर्गत शिवालय गाउँपालिकाले २०७७ सालमा २५ लाख ६० हजार रकम खर्च गरेको छ । रकमबाट ९० जना उद्यमी सिर्जना भएको गाउँपालिका स्रोतले जनाएको छ । २०७८ सालमा गाउँपालिकाले २३ लाख ६० हजार तालिममा खर्च गरेको छ । उक्त पैसाबाट ८५ जना उद्यमी सिर्जना भएका थिए ।

यस्तै छेडागाड नगरपालिकाले २०७७ सालमा २३ लाख ६० हजार रकम खर्च भएको छ । नगरपालिकाको आर्थिक वर्षमा ९० उद्यमी सिर्जना गरेको थियो । यस्तै नगरपालिकाले २०७८ सालमा २३ लाख ६० हजार रकम खर्च गरेर ८५ लाख खर्च गरेको थियो । नगरपालिकाले हाल जिल्लाका सात स्थानीय तहले हालसम्म उद्यमी सिर्जना गरे पनि कार्यान्वयनमा देखिएको छैन ।

प्रकाशित मिति:April 12, 2023