लुम्बिनी प्रदेशसभा सचिवालयको जिप सिकाउने क्रममा विद्युत पोलमा ठोक्कियो

  Sampatti News Online

April 16, 2023

लुम्बिनी । निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्बिनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ। सरकारी निकायका गाडी चरम दुरुपयोग भइरहेको छ । यसको पछिल्लो उदारण हो लुम्बिनी प्रदेशसभा सचिवालयको शुक्रबार बिहान करिब ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने क्रममा दुर्घटनामा परेको बुझिएको छ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवलस्थित निवासमा प्रयोग हुँदै आएको लु १ झ ४४७ नं को टाटा स्टोम जिप दुर्घटनामा परेको हो। प्रदेशसभा सचिवालयका चालक सिद्धराम चौधरीले सभामुखको सचिवालयका कर्मचारी पदम सोमैलाई सिकाउने क्रममा बुटवल १० र तिलोत्तमा नगरपालिकाको सीमा सडक योगिकुटीमा रहेको विद्युत पोलमा ठोक्किएको थियो।

अत्यन्त तिव्र गतिमा रहेको उक्त सरकारी गाडी योगिकुटीको सोमवार हाटबजार अगाडीको चोकमा पुगेपछि चालकले नियन्त्रण गर्न नसक्दा बुटवल पाल्पा ११ केभी प्रशारण लाईनको बिद्युत पोलमा ठोक्किएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार विद्युत पोलमा जिप ठोक्किएपछि छेवैको सिटमा बसेर सिकाइरहेका जिप चालक सिद्धराम चौधरी भागेका थिए भने चलाउन सिकिरहेका चालक पदम सोमैलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।

जिपले विद्युतको पोलमा ठोक्किँदा ढलेको पोलले स्थानीय डिल्लीराज अर्यालको घरमा समेत क्षति पुर्‍याएको छ।

प्रकाशित मिति:April 16, 2023