निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी

  Sampatti News Online

April 18, 2023

काठमाडौँ — नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काका साक्षीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जन(भ्रष्टाचार) मुद्दामा विशेष अदालतले सोमबार खड्काका साक्षी निमा टासी शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

खड्काविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख रुपैयाँ गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई २०७१ साल माघमा खड्कालाई मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

अनेकन विवादमा मुछिएपछि २०७४ असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम सरकारद्वारा पदच्युत गरिएका खड्काले श्रीमती शर्मिला खड्का र अन्य व्यक्तिका नाममा समेत चलअचल सम्पत्ति लुकाइराखेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि उपस्थित नभएपछि विशेष अदालतले सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले चण्डिका भट्टलाई हटाएर अवकाशप्राप्त इन्जिनियर (उपसचिव) गोपाल खड्कालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति:April 18, 2023