आज १२ बजे रातिदेखि मौन अवधि सुरु हुँदै, कुनै पनि प्रचारप्रसार गर्न नपाइने

  Sampatti News Online

April 20, 2023

काठमाडौँ । आउँदो आइतवार उपचुनाव हुने क्षेत्रमा आज १२ बजे रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइँदैन ।

प्रतिनिधि सभा अन्तर्गत बारा–२, चितवन–२ र तनहुँ–१ मा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने पनि आयोगको आचारसंहितामा उल्लेख छ ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

यसैबीच, उपचुनाव हुने क्षेत्रका मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा भोलिदेखि ३ दिनसम्म बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ।

चुनाव हुने दिन पनि सार्वजनिक गाडी समेत चल्नेगरी सुरक्षाको व्यवस्थापन गर्न र मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्म जाँडरक्सी बिक्री वितरणमा रोक लगाउन पनि आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:April 20, 2023