चितवन -२ बाट रवि लामिछाने भारी मतान्तरसहित फेरि निर्वाचित, तोडे आफ्नै रेकर्ड

Nepal Cover
१२ बैशाख २०८०, मंगलवार
image

चितवन । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। 

अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्। 

उनीहरूबीचको मतान्तर ४२९६२ छ। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन्।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।

अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो।