उद्योग विभागका अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

Nepal Cover
१५ बैशाख २०८०, शुक्रबार
image

काठमाडौँ — उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् । शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई ४९ हजार ५ सय रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार समातेको हो । ट्रेडमार्क दिने क्रममा सेवाग्राहीबाट घुस लिएको उनीहरुमाथि आरोप छ । 

घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रवक्ता भोला दाहालका अनुसार शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

घुस लिएको रकमबाहेक स्रोत नखुलेको ३७ हजार ५३५ रूपैयाँ पनि शाखा अधिकृतको कार्यकक्षबाट नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ आयोगले जनाएको छ।