जनताको सेवाका लागि हरपल सहकार्य गर्छु: स्वास्थ्यमन्त्री बस्नेत

  Sampatti News Online

May 5, 2023

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताएका छन् । मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय मन्त्रालयसँग सहकार्य गर्ने रहेको बताए ।

उनले स्वास्थ्य सङ्कटमा सबै पक्ष जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । “स्वास्थ्य सङ्कटमा पहिला जनता बचाऔँ अनि राजनीति गरौैँ । वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न रोगबाट उन्मुक्तिका लागि सबै जनाले ‘एक घन्टा आफ्नो लागि’ नारासहित अघि बढौँ”, उनले भने ।

मन्त्री बस्नतेले पदभार ग्रहण गरेलगत्तै स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा सात दिन भित्र प्रयोगमा नआएका उपकरणहरुको सबै विवरण संकलन गरेर बुझाउन निर्देशन दिएका हुन्।

मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

विगतमा स्वास्थ्यमन्त्री हुँदा गरेका उत्कृष्ट कार्य, लिएका अनुभव र हाल पाएको जिम्मेवारीले मन्त्रालयमा रहेका कमी–कमजोरीलाई न्यूनीकरण गरी सबै पक्षसँग सहकार्य र समन्वय गरी स्वास्थ्य क्षेत्रको सुधारोन्मुख दिशामा प्रतिबद्ध रहने उनको भनाइ छ ।

स्वास्थ्यमा धेरै उपकरणहरु किनेर त्यसै प्रयोगमा नल्याइ राखिएको छ। अब ती उपकरणहरु कहाँ कहाँ छन् त्यो खोजी गर्दै प्रयोगमा ल्याउनुपर्छु मन्त्री बस्नेतले भने, एक साताभित्र ती सबैको विवरण ल्याउनुहोला। त्यसपछि आवश्यकताको पहिचान गरेर प्रयोगमा ल्याइने छु।

स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाइ थियो। मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्यूममा भए पनि त्यसको सदूपयोग हुन नसकेको भन्दै आपत्ति जनाए।

मन्त्रालयले गर्ने हरेक कार्यको पारदर्शिता कायम गरी कर्मचारीको कार्यसम्पादनको प्रभावकारिताका आधारमा सरुवा तथा स्तरोन्नतिको अवसर प्रदान गर्ने उनले बताए । पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले चार निर्णय गरेका छन् ।

उनले स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई सङ्क्रामक एवं महामारीका रूपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै सङ्घ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्तदुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं सङ्घसंस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

दोस्रो निर्णयका रूपमा स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने रहेको छ ।

तेस्रो, आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने रहेको छ ।

त्यसैगरी स्वास्थ्य सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भएरनभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहायबमोजिमको अनुगमन समिति गठन गर्ने निर्णय रहेको छ ।

प्रकाशित मिति:May 5, 2023