मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Nepal Cover
२४ बैशाख २०८०, आईतवार
image

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र विक्री खुला गर्न लागिएको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

आयोजना प्रभािवत स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर मात्र बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको  २० लाख ९५ हजार ६१० कित्ता शेयर समेत सर्वसाधारणमा थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गर्न कम्पनीले अनुमति पाएको हो । दोस्रो चरणका विक्री गरिने १५ प्रतिशत अर्थात ४३ लाख ५० हजार कित्ता शेयरमध्ये ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।

अब बाँकी रहेको शेयरमध्ये पनि ५ प्रतिशत अर्थात ३ लाख २२ हजार २८० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।  सर्वसाधारणमा ५५ लाख ५९ हजार ४२० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

यस कम्पनीले पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो । यस आयोजनको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ भने आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।