सुत्केरी बिदा ६ महिनासम्म पुर्याउने स्वास्थ्य मन्त्रालयको तयारी

  Sampatti News Online

May 9, 2023

काठमाडौं । नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै गएपछि सरकारले कामकाजी हाल महिलाले ६० दिन सुत्केरी बिदालाइ बढाएर ६ महिना पुर्‍याउने तयारी थालेको छ।

जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर सुत्केरी बिदा छ महीनासम्म पुर्याउने पहल गरेको हो ।

हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ । सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महीनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको छ ।

चिकित्सकहरूका  अनुसार जन्मेदेखि ६ महिनाका बालबालिकालाई  एक दिनमा कम्तिमा पनि ६ पटक देखि छिटो–छिटो खुवाएमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति:May 9, 2023