काठमाडौं : नेपालले विश्वकप छनोटअघि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का एक पदाधिकारीका अनुसार दक्षिण अफ्रिका भ्रमणको तयारी नेपालले सुरु गरिसकेको छ।
अर्को महिना जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको तयारी स्वरूप नेपाल दक्षिण अफ्रिका जाने तयारीमा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपाली टिम तयारीका लागि जेठको दोस्रो साता दक्षिण अफ्रिका जाने बताइएको छ। दक्षिण अफ्रिकामा करिब १० दिनको तयारीमा नेपालले कम्तीमा दुईवटा टिमसँग अभ्यास खेल खेल्नका लागि क्यानले कुराकानी गरिरहेको छ।
आगामी जुनमा आयोजना हुने विश्वकप छनोटमा कुल १० टिम छन्। प्रतियोगितामा आयोजक जिम्बावेसँगै, श्रीलंका, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र आयरल्यान्ड छन्।
नेपाल, स्कटल्याण्ड र ओमानले भने लिग-२ बाट शीर्षस्थानमा रहँदै विश्वकपमा ठाउँ पक्का गरेका हुन्। उता अमेरिका र युएईले भने प्लेअफ क्वालिफायरबाट जिम्बाबेको टिकट काटेका हुन्।
यी १० टिममध्ये दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्नेछन्।