सिटिइभिटिका करार कर्मचारीले देशभरका शिक्षालय बन्द गरे

  Sampatti News Online

May 12, 2023

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) मा कार्यरत सेवा करारहरूको बृहत्त राष्ट्रिय भेला सम्पन्न भएको छ । सो भेलाले परिषद्को विनियमावलि तत्काल संशोधन गरि सेवाकरारलाई पनि कर्मचारीको रूपमा परिभाषित गर्नुपर्ने लगायतका माग राखेका छन् ।मागलाई चाडैं सम्बोधन नभएपछि अहिले देशभरका शिक्षालयहरुमा तालाबन्दी भएको छ । सिटिइभिटिका ६५ वटा आंगिक शिक्षालयमा अध्यापन तथा सेवा गरिरहेका कर्मचारीहरू मध्ये करिब ८० प्रतिशत भन्दा बढी सेवाकरारहरू रहेका छन् ।

सिटिइभिटि सेवा आयोग गठन गरि खुल्ला बिज्ञापनको ८० प्रतिशत पदमा उमेर हदबन्दी नलाग्ने गरि थप दरबन्दी सहित सिमित खुल्लाको व्यवस्था मार्फत स्थायी पदपूर्ति प्रक्रियामा सामेल गराउनुपर्ने माग राखेका छन् ।

यसरी स्थायी पदपूर्ति प्रक्रियाबाट छनोट हुन नसकेका सेवाकरारहरूलाई सेवा अवधिको गणना गरि प्रतिवर्ष ३ महिनाको तलब बराबरको रकम उपदान उपलब्ध गराउनु पर्ने, सेवाकरारबाट सेवामा प्रबेश गरेपछि नै संचयकोष, विदा, बीमा लगायतका अन्य सुविधा स्थायी सरह हुनुपर्ने माग राखेको सेवाकरार राष्ट्रिय संघर्ष समितिका संयोजक राजेन्द्र प्रसाद भट्टले सम्पत्ति न्युजलाइ बताए।

भेलाले देशका विभिन्न शिक्षालयमा देखिएको सेवाकरार विस्थापनको समस्या, महँगी भत्ता उपलब्धताको समस्याहरू तत्काल समाधान हुनुपर्ने, स्थायी पदपूर्ति हुँदा सेवाकरारको समयावधिको मुल्यांकन हुनु मागहरू समेत राखेको संयोजक भट्टले बताए ।

ती मागहरू यथासिघ्र सम्बोधनका लागि आइतवार सिटिइभिटिका सदस्यसचिवलाई ज्ञापनपत्र समेत दिइसकेको केन्द्रीय समितिका सदस्य सुमन श्रेष्ठले बताए । ज्ञापनपत्र ग्रहण गर्ने क्रममा सदस्यसचिव जीवनारायण काफ्लेले सेवाकरारका समस्या समाधान गर्न प्रतिवद्ध रहेको र सिघ्र नै परिषद्को बैठकमा राख्ने आश्नवासन पाएको केन्द्रीय सदस्य श्रेष्ठले बताए ।

सेवा करारको राष्ट्रिय भेलाले तय गरेका ती मागहरू सम्बोधन नभएमा आफुहरू आन्दोलनमा जाने र त्यसको लागि समेत तयारी अवस्थामा रहेको संयोजक भट्टले बताए ।

शनिवार सम्पन्न भएको सेवाकरार राष्ट्रिय संघर्ष समितिको बृहत राष्ट्रिय भेलालाई सिटिइभिटिमा क्रियाशिल कर्मचारी संघका अध्यक्ष दीपक टण्डन, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेज बहादुर खत्री र एकिकृत कर्मचारी संगठनका अध्यक्ष सुर्य प्रसाद अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । विसं २०४५ सालमा स्थापना भएको प्राविधिक शिक्षा तालिम परिषदमा हाल १६०० को हाराहारीमा सेवा करारहरू रहेका छन् ।यो आन्दोलन चलिरहदा मासिक ज्यालादारी र दैनिक ज्यालादारी कर्मचारीलाई पनि सुबिधा दिन थप लबिङ गर्नुपर्ने करार सेवारत कर्मचारीमध्ये कतिपयले कुरा उठाएका छ्न। आन्दोलनको चुरो बुझेर बेलैमा मागलाई सम्बोधन हुनुपर्ने बताइएको छ।

प्रकाशित मिति:May 12, 2023