अब घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

  Sampatti News Online

May 15, 2023

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ ।

आज (सोमवार) एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको हो । आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो ।

२०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन (अनलाइन मार्फत आवेदन दिनसक्ने र मिति लिन सक्ने) सेवा पाइरहेका विद्यार्थीले आज जेठ १ गतेदेखि पूर्णरुपमा अनलाइन सेवा पाउने भएका हुन् ।शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको बताएकाे छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्न सक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको बताए ।

, ‘नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने, आफैँले कोठामा बसीबसी आफ्नै कम्प्युटरबाट फर्म भर्न सक्ने आफैँले प्रिन्ट आउट गर्न सक्ने सर्टिफिकेट, त्यहीँबाट पैसा तिर्न सक्ने व्यवस्थामा प्रवेश गर्नु भनेको प्रशंसनीय काम हो, यो शतप्रतिशतमा गएको छैन, ४० प्रतिशत अझै बाँकी नै छ, तर एउटा प्रक्रियाको सुरुवात भइसकेपछि बिस्तारै सबै काम हुँदै जान्छ, शिक्षा मन्त्रालय यसमा लाग्नेछ । यो सेवालाई निरन्तरता दिनुपर्ने, नियमित गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति:May 15, 2023