महिनामा डेढ लाख पासपोर्ट बन्नु प्रतिभा पलायनको संकेतः परराष्ट्रमन्त्री साउँद

  Sampatti News

May 21, 2023

माधव अधिकारी
काठमाडौँ, ७ चैत्र
परराष्ट्रमन्त्री एनपी साउँदले राहदानी विभागबाट एकै महिनामा १ लाख ४१ हजार राहदानी जारी हुनु प्रतिभा पलायनको संकेत भएको बताउनुभएको छ । परराष्ट्रमन्त्री साउँदले गत चैत्र महिनामा जारी भएका पासपोर्टको तथ्यांक उल्लेख गर्दै कामदार र विद्यार्थी विदेश जाने लहर चल्नु विदेशप्रतिको आकर्षण बढेको देखाएको बताएका हुन् । बानेश्वर बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रमाणपत्र बोकेर रोजगारी खोज्ने बेला नभएको बताउँदै उच्च शिक्षा आयोग गठन गरी नेपालको शिक्षानीतिलाई व्यापक र समयसापेक्ष सुधार गर्ने सरकारको अठोटमा शिक्षाविद् लगायत सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपालको जनसंख्यामा युवाको संख्या सबैभन्दा ज्यादा रहेको उल्लेख गर्दै यो बेलामा नेपालमा आवश्यक जनशक्ति उत्पादन गर्न सकेमा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नसक्ले उहाँको भनाई थियो ।
स्थानीय शिक्षाप्रेमीको प्रयासमा स्थापित क्याम्पसको निरन्तर प्रगति र उत्पादित विद्याथीले समाजमा पु¥याएको योगदानप्रति उहाँले खुशी व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख घमानसिंह खड्काले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पसले शिक्षाको गुणस्तर सुधारमा विशेष ध्यान दिइहेको बताउनुभयो । एक जना विद्यार्थीबाट २०४७ सालमा प्रवीणताप्रमाणपत्र सुरु गरेको क्याम्पसमा हाल आफ्नै भौतिक संरचनासहित शिक्षा, मानविकी र व्यवस्थापन संकायको स्नातक तथा स्नातकोत्तर तहमा तीन हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख खड्काले जानकारी दिनुभयो । उहाँले न्यून आय भएका र जेहेन्दार विद्यार्थीका लागि निजी र आङ्गिक क्याम्पसको विकल्पका रुपमा पब्लिक क्याम्पस स्थापित भएको धारणा व्यक्त गर्नुभयो ।
वार्षिकोत्सव समारोहका अवसरमा क्याम्पसमा दीर्घ सेवा गर्ने तथा विद्यावारिधि गर्ने प्राध्यापक, कर्मचारी एवं विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले मौलिक संस्कृतिमा आधारित साकेला देउडा लगायतका नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति:May 21, 2023