पाकिस्तानी दूतावासद्वारा १९८ विद्यार्थीलाई छात्रवृत्ति वितरण

  Sampatti News

May 25, 2023

माधव अधिकारी
काठमाडौँ, ११ जेठ
काठमाडौंस्थित पाकिस्तानी दूतावासले नेपालका ४३ सामुदायिक विद्यालयमा अध्ययनरत एक सय ९८ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दूतावासद्वारा विहीबार राजधानीमा आयोजित ११ औँ छात्रवृत्ति वितरण समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा एक जना सर्वोत्कृष्ट विद्यार्थीलाई ल्यापटप समेत हस्तान्तरण गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तानले जारी राखेको सहयोगको प्रशंसा गर्दै कार्यक्रमले दुई देशका नागरिकबीचको सम्बन्ध मजबुत हुने विचार व्यक्त गर्नुभयो ।
नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हास्मीले बालबालिकालाई शिक्षा, खेलकुद र सामाजिक क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले पाकिस्तानी दूतावासले प्राथमिकता साथ सहयोग गर्ने उल्लेख गर्दै भविष्यमा छात्रवृत्ति वितरणलाई निरन्तरता दिने बताउनुभयो ।
सन् २०१३ देखि सुरु भएको पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम लोकप्रिय हुँदै गएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति:May 25, 2023