जीवन विज्ञानको आध्यात्मिक शिक्षा कार्यक्रम

  Sampatti News Online

May 27, 2023

काठमाडौँ । जीवन विज्ञान, काठमाडौँ जिल्ला परिषद्को आयोजनामा शनिबार पुरानो बानेश्वरस्थित ग्लोबल कलेजमाआध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपि भानु शर्माले धर्मका दश लक्षणका सम्बन्धमा प्रवचन दिएका थिए । औपचारिक कार्यक्रममा खादा माला लगाउने, आसन ग्रहणका लागि समय खर्च गर्नुको सट्टा त्यो समयमा अन्य धेरै जीवनोपयोगी काम गर्न सकिने बताए । उनले जीवन विज्ञानको कुनै पनि कार्यक्रमहरूमा अतिथिलाई आसन ग्रहण नगराइने जानकारी गराए । शर्माले भने–‘औपचारिकताले देश बन्दैन । हामी १ घण्टा बसेर आसन ग्रहण गराऔँ घरमा खाना पाक्दैन । यो बेकारको प्रत्युत्पादक काम गरेर जीवनमा कहिले पनि समय फाल्नु हुँदैन ।’उनले धर्ममा भगवानलाई पूजा गर्नुअघि नुहाउनुपर्छ भनेर मानिसलाई सुद्ध बनाउने नियम रहेको बताउँदै मानिसलाई शरीर र मनको मैला सफा पार्न धर्मले सिकाएको बताए । उनले भने–‘हेर्नुस् त धर्मको कति पवित्रता थियो । हरेक दिन भगवानलाई पूजा गर भने हाम्रा ऋषिमुनीहरुले ।’ उनले धर्म र धर्म सम्प्रदाय फरक कुरा रहेको बताए । धर्म जीवनको आशा र भरोसाको बिषय रहेको बताए । उनले देश धर्म निरपेक्ष हुन नसक्ने उल्लेख गर्दै सम्प्रदाय निरपेक्ष देश हुन सक्ने बताए ।
प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा व्यक्तित्व सहभागी भएका थिए ।

प्रकाशित मिति:May 27, 2023