नेप्से १६.५४ अंकले ‘बाउन्स ब्याक’

  Sampatti News Online

June 1, 2023

काठमाडौं । यस साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक, अन्तिम कारोबार दिन भने बढेर बन्द भएको छ। तीन दिनको निरन्तर गिरावटपछि नेप्से साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेर बन्द भएको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएयता निरन्तर घटेको शेयर बजार आज भने बढेको हो । आज नेप्से १६.५४ अंकले बढेर एक हजार ८ सय ६६ दशमलब ३४ विन्दुमा बन्द भएको हो ।     

आज एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ भने ३७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६.९४ प्रतिशतले बढेर प्रतिकित्ता ३८६.६० रुपैयाँ पुगेको छ भने विपीडब्ले लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता ४०२.९० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार सनराइज फोकस्ड इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा यस दिन पनि प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २३ करोड २१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

अज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति:June 1, 2023