सिन्धुली जीप दुर्घटना : सहसचिवसहित तीन वेपत्ताको खोजीका लागि नदी डाइभर्सन गरिँदै

उद्धार कार्यमा सक्दो सहयोग गर्न सिटिइभिटीको अनुरोध

  Sampatti News Online

June 4, 2023

काठमाडौं । सिन्धुली जीप दुर्घटनामा वेपत्ताको खोजीका लागि सुनकोशी नदीलाई डाइभर्सन गर्ने कार्य भइरहेको छ । नदीको बहावलाई विपरीत दिशामा ल्याएमात्र खोजी गर्न सहज हुने निष्कर्षका साथ डाइभर्सन गरी गोताखोर परिचालन गरिएको घटनास्थलमा खोजी कार्यमा अहोरात्र खटिनुभएका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्य सचिव जीव नारायण काफ्लेले बताउनुभयो । नदीको अत्यधिक गहिरो भागमा जीप खसेको तथा पानी धमिलो भएको कारण खोजी कार्यमा कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । स्थानीय बासिन्दाका अनुसार नदी अत्यन्त गहिरो भएकोले विगत ६० वर्षयता उक्त स्थानमा कोहीपनि पौडी खेल्ने हिम्मत गर्न सकेका छैनन् । स्वर्गीय राजा वीरेन्द्रको वंशनाश भएको तिथि जेठ १९ का दिन भएको दुर्घटनामा वेपत्ताको स्थिति हालसम्म अज्ञात भएपछि परिवारजन र सहकर्मीमाथि वज्रपात परेको छ ।

यसैबीच सिटिइभिटीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी यस दुःखद् घटनाबाट मर्माहत हुनु भएका परिवार तथा आफन्तजन र परिषद्का कर्मचारीहरुलाई धैर्यधारण गर्न र उद्धार कार्यमा सक्दो सहयोग गर्न सम्बद्ध सबै पक्षमा अनुरोध गरेको छ । नेपाल सरकार, स्थानीय तह,जनप्रतिनिधि, नागरिक समाज,नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र परिषद् कार्यालयको अथक प्रयत्नमा खोजी तथा उद्धार कार्य भइरहेको परिषद्ले जनाएको छ । यस दुःखद् घटनाबाट परिषद् कर्मचारी स्तब्ध रहेको र उद्धार कार्यका लागि घटनास्थलमै पुगेर आवश्यक सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा परी बेपत्ता भएका सिटीइभिटीका तीन जना कर्मचारीको अवस्था हालसम्म अज्ञात हुँदा परिवारजनमा शोक छाएको छ । वेपत्ताको यथाशीघ्र खोजीका लागि परिवारका सदस्यले सरकारसँग याचना गरेका छन् । जीवित वा मृत जस्तोसुकै अवस्थामा भएपनि वेपत्ताको स्थिति पत्ता लगाइदिन उनीहरुले हारगुहार गरिरहेका छन् । कार्यालयका कर्मचारी समेत आफ्ना मिलनसार सहकर्मी वेपत्ता भएको खबरले स्तब्ध छन् । दुर्घटनामा परी वेपत्ता भएको खबरले उनीहरुको गाउँभरी नै शोक छाएको छ ।

खोटांगको माहुरेगढी बहुप्राविधिक शिक्षालयको अनुगमन गर्न जाने क्रममा जीप खोलामा खसेको थियो । बेपत्ता हुनेमा सीटीईभिटीका सहसचिवस्तरका कर्मचारी निर्देशकद्वय कृष्णबहादुर केसी र यामप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल रहेका छन् । सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको जीप सुनकोशीमा खसेको थियो । जीपमा ४ जना सवार भएपनि दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय चालक कृष्ण चौधरी भने पौडेर बाहिर निस्केका थिए ।

प्रकाशित मिति:June 4, 2023