दादुरा–रुबेला खोप अभियान

Nepal Cover
२५ जेष्ठ २०८०, बिहीबार
image

कञ्चनपुर। कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि बिहीबारदेखि दादुरारुबेला खोप अभियान सञ्चालन हुँदैछ।

खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो।

आजदेखि सुरु हुने खोप अभियान जेठ मसान्तसम्म सञ्चालन हुने छ। खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए।

‘खोप पूर्णरूपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु’, पन्तले भने, ‘यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ। त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ।’

सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरिएको हो।

कञ्चनपुरमा पाँच सय ७२ खोप केन्द्रबाट खोप दिइने छ। साथै तीन सय ५३ स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन्।