अब बसमा ‘डस्टविन’ अनिवार्य राख्नुपर्ने

Nepal Cover
२८ जेष्ठ २०८०, आईतवार
image

तनहुँ । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ ।

व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहोर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो।

जथाभावी रुपमा फोहोर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारी साधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशन सहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए।

उनले भने,’नगरपालिकालाई वातावरणमैत्री शहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारी साधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ।’

सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पनि जथाभावी रुपमा फोहोर नफाल्न यातायात समितिमार्फत् जानकारी गराउन निर्देशन दिइएको उनले बताए। जथाभावी रुपमा अटेर गरी फोहोर फालेमा पहिलो पटक तीन हजार र दोस्रो पटक सात हजारसम्म जरीवाना गरिने उनले जानकारी दिए।

नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो।

नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ। नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य मुख्य भागमा जथाभावी फोहोर नफालौ, फोहोर फालेमा हुने कानूनी कारवाही लगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ। रासस