शिक्षण पेशाप्रति आकर्षण घट्दै गएकोमा निस्टाको चिन्ता

  Sampatti News

June 11, 2023

काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय संघ (निस्टा)ले शिक्षण पेशाप्रति आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । निस्टा केन्द्रीय अध्यक्ष भोला चालिसेको प्रमुख आतिथ्यमा निस्टा, कोशी प्रदेश समितिको शनिबार सम्पन्न प्रथम बैठकले निजी विद्यालयमा कार्यरत शिक्षकको आत्मबल र सम्मान उच्च राख्न जिल्ला र स्थानीय तहमा पेशाकर्मी सबलीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्न,गराउन र शिक्षकको पेशागत कर्तव्य र अधिकारको सुनिश्चितताका लागि स्थानीय तहसँग माग गर्ने निर्णय बैठकमा गरिएको छ ।बैठकमा निस्टाका जिल्ला अध्यक्ष भाष्कर निरौला– झापा, सुशील खतिवडा–मोरङ , लेखराज ढकाल–सुनसरी, सुमना तिम्सिना–धनकुटाको समेत सहभागिता रहेको थियो ।
स्थापनाको ६ महिनामै ७ प्रदेशका ६० जिल्लामा निस्टाको संगठन विस्तार भएको केन्द्रीय अध्यक्ष चालिसेले जानकारी दिनुभयो ।निस्टाले सांगठनिक तथा रचनात्मक कामहरूलाई अघि बढाउँदै शिक्षा प्रणाली सुधारका काममा अग्रसर भई भूमिका निर्वाह गर्ने जनाएको छ।साथै संघले निजी शिक्षण संस्थालाई श्रममैत्री र बालबालिकामैत्री बनाउन पहल समेत गरिरहेको अध्यक्ष चालिसेले बताउनुभयो ।अध्यक्ष चालिसे सहित निस्टाको टोली संगठन विस्तारका लागि कोशी र मधेश प्रदेश भ्रमणमा रहेको छ ।

प्रकाशित मिति:June 11, 2023